वनमा पाइने फल खान आउ भनेर बोलाई हयाङ्लु ६ रिगा गाउँका नरबहादुर रोकायाले जंगलमा दुई छोरा र दुई छोरीको हत्या गरेको छ ।हत्यालगत्तै उनले गत ९ मंसिरमा छोराछोरी हराएको भन्दै सुकाढिक प्रहरी चौकीमा जाहेरीसमेत दिएका थिए । आफ्नी श्रीमती घाँस काट्न गएको र आफूले गाउँको भतेर खान गएको बेला आफ्ना चार बालबालिका हराएको भनी उनले प्रहरीलाई खबर गरेका हुन् ।
प्रहरीको खोजी, धामीझाँक्री लगाउँदा कतै पत्तो नपाएपछि स्थानीय छिमेकीकी छोरी ४ कक्षामा अध्ययनरत बालिकालाई प्रहरीले सोध्दा उनीहरुलाई आफूले बिहान घरबाट निस्कन लाग्दा देखेको र कहाँ जान लागेको भनी सोध्दा बाबुले खेतमा खरी नामक फल खान बोलाएको बताएको भनेपछि प्रहरीले बाबु रोकायालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा जिन्दगीबाट रिस उठेर सन्तानको हत्या गरी वंश नाश गरेको बयान दिएका छन् ।उनको बयानपछि रोकायाकी नौ वर्षकी छोरी सुन्तली, ६ वर्षका छोरा युवराज, चार वर्षकी छोरी विपना र दुई वर्षका छोरा दीपको शव गाडिएको अवस्थामा भेटिएको थियो ।