बझाङ: जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको हो।'छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ', दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्यो भनेर बोलाइयो। हाम्रो संस्कारअनुसार विवाह गरिदियौं।'साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो। विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो।कारागारमा भएको विवाहमा कैदी भरतले पूजाको शिरमा सिन्दुर र औंलामा औंठी लगाइदिए। टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको संकेत गर्दा आफन्तले ताली बजाएका थिए । विवाह भई हात मिलाएर बिछोड हुँदा दुलाहादुलही दुवैका आँखा रसाए।८ वर्षदेखि जेलमा रहेका ३० वर्षीय भरतसँग भेट्न यसअघि पनि पूजा कारागार आउने गर्थिन्। कारागारका जेलर राजेन्द्रबहादुर बोहराले भने, ‘उनीहरूको गाउँमा पनि चिनजान रहेछ। मन मिलेर बिहे भयो।'केही भेटघाट र केही फोनबाट भरत र पूजाको माया गाढा भएको थियो। भरतको घरमा पनि बुबाआमा बूढाबूढी भएकाले कामको समस्या हुँदा विवाह गरेको उनले बताए। विवाहका उपलक्ष्यमा भरतका बुबाले कैदीलाई मिठाइ, फलफूल र प्रसाद दिएका थिए।१९ वर्षकी पूजाले श्रीमान् कारागारबाट नछुटुन्जेल घरको कामकाज गर्ने बताइन्। २ वर्षपछि भरतको कैद भुक्तान हुनेछ। पूजा र भरत सामान्य साक्षर हुन्।