टोलीमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल र परिसरका एसपी विश्वराज पोखरेल छन्।छानबिन समितिको टोलीले बुधबार घटनास्थलमा पुगेर अवलोकन गरेको थियो।
ग्यास कम्पनीमा स्थानीयले आक्रमण गरेर मूलढोका तोडफोड, जाली च्यातिदिएको र प्रहरीमाथि ढुंगामुढा गरेको देखेपछि स्थानीयमाथि प्रहरीले कम बल प्रयोग गरेको निष्कर्षमा समिति पुगेको छ। ग्यास कम्पनीका मालिक शिव घिमिरेले केही दिन अगाडिमात्रै स्थानीयलाई ग्यास दिने बताए पनि मंगलबार ग्यास नदिएपछि स्थानीय आक्रोशित भएका थिए।
'डीएसपीको पेस्तोल लुटिँदासमेत प्रहरी आक्रोशित नभई सुझबुझका साथ कारबाही अगाडि बढाएको पाइयो, तर स्थानीय आक्रोशित हुने देखिएपछि सुरक्षा तैनाथीमा फिल्डमा जो कमान्डर थियो, उसको कमजोरी देखियो', छानबिन समितिका एक सदस्यले भने।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विक्रम थापाले घटनामा ग्यास कम्पनीको मालिक पनि दोषी पाइएको बताए। उनले भने,'पहिल्यैदेखि स्थानीयलाई रिफिलिङ सेन्टरबाटै ग्यास बाडिँदो रहेछ, सरकारी अनुगमन कडा भएपछि मात्रै ग्यास दिन्न भनेर भनिएको पाइयो। यसबाट स्थानीय आक्रोशित बन्न पुगे।'