मधेसी मोर्चाका कार्यकर्ताले इँटा बोकेका दुई ट्रक जलाए
१४ पुस, रौतहट । रौतहटको गरुडामा मधेसी मोर्चाका कार्यकर्ताले दुई वटा ट्रकमा आगजनी गरेका छन् । ईट्टा लोड गरिएका दुवै ट्रकलाई बन्दको अवज्ञा गरेको भन्दै सोमबार राति मोर्चा कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाएका हुन् ।
गरुडाबाट ईट्टा बोकेर चन्द्रनिगाहपुर तर्फ जान लागेको ना ५ ख १६७० र ना ४ ख ४६०५ नम्बरको ट्रकमा आगजनीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालय का डिएसपी राजेन्द्र पोखरेलले बताए ।
घटनाको जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले आगो निभाएको थियो । घटना पछि आगो लगाउनेहरु फरार भएको प्रहरीले बताएको छ । ईट्टा लोड गरिएको ट्रकका विषयमा मोर्चाका कार्यकर्ता र व्यवसायीबीच कुरा नमिलेका कारण आगजनी भएको हुनसक्ने प्रहरीको आशंका छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगजनीबाट दुवै ट्रकको अगाडिको भाग जलेको छ । यस अघि पुस ८ मा पनि गरुडामा सख्खर बोकेको एउटा ट्रकमा मोर्चाले आगजनि गरेको थियो ।