धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

बुवाको किरियाका लागि नेपाल जान छुट्टी माग्दा साउदीको जेल

                                   साउदी । बैदेशिक रोजगारीको शिलशिलामा दश महिना अघि साउदी अरब आएका रुपन्देही तिलोत्तमाका कृष्ण श्रेष्ठ यतिबेला साउदी अरबको जेलमा छन् ।

बुवाको निधन भएपछि काजक्रियाका लागि स्वदेश जाने बिषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसकेपछि श्रेष्ठ जेल जानु परेको हो ।
Krishna-Shresth‘म साउदी अरब आएको एक महिना पछि घरमा आगलागी हुँदा बुवाको जलेर मृत्यू भएको खबर पाएँ, रियादको सफर जेलबाट टेलिफोन गरेर पीडित श्रेष्ठले भने, ‘बुवाको किरिया गर्न स्वदेश जान्छु भन्दा जेल जानुपर्‍यो ।’
बाबुको मृत्युको खबरले भावबिह्ल भएका श्रेष्ठ काजकिरियाका लागि स्वदेश जान छुट्टी माग्दा रोजगारदाताले नौ महिनादेखि आलटाल गर्दै आएको र अहिले प्रहरीमा उजुरी गरिदिएपछि बिना कसुर जेल जान बाध्य पारेको उनले बताए ।
‘शुरुमा त यो बिषयमा कहाँ कसलाई जानकारी गराउने भन्ने थाहा नै भएन,’ श्रेष्ठले भने, ‘पछि साथीहरुको सहयोगमा नेपाली दुतावास रियादमा सम्पर्क गरेर दुतावासबाट आपतकालीन समस्या परेकाले स्वदेश पठाउन अनुरोध सहितको पत्र लगेर कम्पनीलाई बुझाएको थिएँ ।’
पीडित श्रेष्ठका अनुसार उक्त पत्र कम्पनीलाई बुझाएपछि कम्पनीले अनावश्यक दोष देखाएर उनकै बिरुद्धमा प्रहरीम्ाा उजुरी दिएको थियो । त्यसपछि श्रेष्ठ आफै आत्मसमर्पण गरेर जेल जान बाध्य भएका हुन् ।
रोजगारदाताले प्रहरीम्ाा उजुरी गरिदिएपछि साउदी अरबमा स्वतः अबैध ठहर्ने कानुनी प्रावधान छ । जेल आएपछि दुतावाससँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको श्रेष्ठले गुनासो गरेका छन् ।
रियादको सफर जेलमा रहेका श्रेष्ठले दुतावासको टेलिफोन नम्बर ९६६ ११ ४६१११०८ र ९६६ ११ ४६४५१७० मा कयौंपटक सम्पर्क गर्दा पनि फोन नै नउठ्ने गरेको दुखेसो पोखे ।
रियादमा रहेको मोहम्मद अल हुसेन डोसरी कम्पनीमा ड्राईभर भिसामा आएका श्रेष्ठले दुई महिनाको पारिश्रमिक समेत पाएका छैनन् । बुवाको निधन पछि घरमा रहेका बृद्धा आमा र श्रीमती थप समस्यामा परेको उनले बताए ।
दूतावासप्रति गुनासो
श्रेष्ठसँगै ३ महिनादेखि बिना कसुर जेल जीबन बिताइरहेका स्याङ्जा आरुखर्कका राजु परियारले जेलमा रहेका नेपालीहरुको उद्धारमा दुतावासले बेवास्ता गरेको गुनासो गरे ।
आफू कार्यरत कम्पनीले पारिश्रमिक नदिएपछि भागेर अन्यत्र काम गर्दा अबैध कामदारका रुपमा आफू जेल जानुपरेको परियारले बताए । दुतावासले पहल नगरेसम्म आफूहरु स्वदेश जान असम्भव रहेकाले जतिसक्दो छिटो स्वदेश फिर्तीका लागि पहल गरिदिन उनले आग्रह गरे । परियारका अनुसार उक्त जेलमा बिभिन्न समस्यामा परेका र भगौडा अबैध कामदार गरी हाल पचास जना नेपाली रहेका छन् ।
यता नेपाली राजदुतावास साउदीका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने नेपाली कामदारहरु जेलमा आउने जाने क्रम सामान्य प्रकृया रहेको प्रतिक्रिया दिए । जेल परेका नेपालीहरुको उद्धारका लागि यसअघि दैनिकजसो दूतावासबाट कर्मचारी पठाउने गरिएको भएपनि दशैं बिदामा रहेकाले कर्मचारी पठाउन नसकिएको शर्माले बताए ।
जेल परेका नेपालीहरुको केश अनुसन्धानका लागि प्रहरीले समय लगाउने भएकाले ढिलाई हुने गरेको शर्माको भनाई छ । उनले जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि दूतावासले जतिसक्दो छिटो पहल गर्ने प्रतिक्रिया दिए ।