धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

सोलु सल्लेरी : जहाँ ८ बजे मात्र उज्यालो हुन्छ

२०७२ कार्तिक ११ गते 


Solu-Salleryबाटोमा भेटिएका सज्जनसँग छुट्टएिर माथि उक्लिँदै गर्दा पछ्याउँदै आएको चिसोले चियाको चुस्कीलाई सम्झाइदियो । हामी रोकियौं एउटा चिया पसलमा । थर्मसमा चिया तयार रहेछ । इच्छा लागेजति पिउन पाइने तर, जति पिए पनि एक कपको शुल्क तिरे पुग्ने ! यो सुविधाको चियाले तताएको ज्यान सल्लेरी आइपुग्दा झमक्क साँझ परिसकेको थियो । सदरमुकाम सल्लेरीको काखबाट बग्ने सोलु खोला र खुम्बिला हिमालको फेदमा रहेको खुम्बु उपत्यकाको समिश्रति नामबाट बनेको सोलुखुम्बु जिल्लामा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ११ उच्च हिमशिखरहरु छन् । बाहृय पर्यटनको मुख्य आकर्षण मानिदै आएको यही जिल्लामा हामी कामकाजी आन्तरिक पर्यटकहरुले आफूलाई बिसायौं ।
भर्खर-भर्खर सम्पन्न भौगोलिक विभाजनपछि प्रदेश नम्बर १ मा परेको यस जिल्लाका अधिकांश नागरिकको पायक स्थान काठमाडौँ हो । ट्रेकिङ्ग र राडी-पाखीका कुटिर उधोगधन्दा यहाका परम्परागत आय-आम्दानीका श्रोत हुन । पछिल्लो समयमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स थपिएको छ । युवाको विदेश मोहले राडी-पाखीको घरयासी उत्पादन खस्किँदो अवस्थामा छ । आलु, फापर, स्याउ, सुन्तला र सिमी यहाँका मुख्य उत्पादन हुन् । वैदेशिक रोजगारी नरुचाउने सर्वसाधारणलाई ट्रेकिङ्ग र यी उत्पादनले भुलाएको छ । दुधकोशी, लिखु, सोलु, इन्खु र हुँगा नदीबाट बिजुली उत्पादन गर्न सात हाइड्रोप्रोजेक्ट आयोजनाले अनुमति पाइसकेका छन् । थप आम्दानीको श्रोत हुने यी उत्पादनका लागि सोलुबासी ब्यग्र प्रतिक्षामा छन् । सगरमाथा चढ्दाको तीस प्रतिशत रोयल्टी यो जिल्लाको भागमा पर्छ । यसका अतिरिक्त डब्लुएचओ र सेभ मदर जस्ता अन्तर्राष्ट्रिय संस्था समेत क्रियाशील छन् । औसतभन्दा माथिल्लो जीवनस्तर जीउन आवश्यक पर्ने श्रोत-साधनको पर्याप्तता, सोलुखुम्बुको विशेषता ।
५ सय घर धुरी, २० हजार ग्यास सिलिण्डर !
भारतीय नाकाबन्दीको असर सोलुमा परिसकेको थियो । ५०० देखि ५५० घरधुरी भएको सल्लेरीमा झन्डै २० हजार सिलिण्डर ग्याँस छन् रे ! मलाईं अलिक अनौठो लागेर सोधेँ, दाउराको विकल्पमा ग्याँस कि सोखका लागि ? एक पील (चार हात लम्बाई/चौडाई) दाउरालाई झन्डै सात हजार रुपयाँ पर्दोरहेछ । ढुङ्गाको पनि मूल्य झन्डै उस्तै हो । महँगो जीवनशैली प्रत्यक्ष चाल पाएँ । पाँच/पाँच वटा विमानस्थलको धनी सोलुखुम्बुमा भर्खर सिद्धिचरण राजमार्गको सडक कालोपत्रे सकिएको छ । सामान ढुवानीमा लाग्ने अतिरिक्त शुल्कले यहाँको जीवनशैलीलाई महँगो बनाएको रहेछ । भौगोलिक कठिनाईलाई आत्मसात गर्नुपर्ने बाध्यतालाई यहाँका नागरिकले हार्दिकताका साथ स्वीकारेका छन् । हामी एकराते पाहुनालाई सोलुमा के नै नपुग्ने थियो र ? भोलिको प्रातःकालिन भ्रमण फाप्लु विमानस्थलसम्म । मैले होटलका प्रोप्राइटरसँग समय मागेँ । ‘एउटा एफएम रेडियोले हजुरसँग अन्तरवार्ताका लागि अनुरोध गरेको छ ।’
‘म न राजनीतिक न म विकासे कार्यकर्ता, केको विषयमा अन्तर्वार्ता ?’
‘तपाइँ हाम्रै काम रेमिट्यान्सको विषयमा ।’
Solu
‘मौसम हेरौं,’ उनले सम्झौतामा कुरा टुङ्गाए । हामी सहमत भयौं ।
साविक बमोजिम विहान पाँच बजे ब्युँझिदा टिनका छाना पट्याङपुटुङ बज्दै थिए । लौ, मौसम खराब भएछ ! फाप्लु पुग्ने सपना अधुरै रहने भयो । गत वैशाखको भूकम्पीय विनासमा इन्डोनेसीयन सरकारको उद्दार टोलीमा सहभागी हुँदा मिलेको ज्याकेट जतनले लगेजमा राखेको थिएँ । निकालें ! टम्म ज्याकेट कसेपछि होटल वाहिर निस्किने हिम्मत बढेर आयो । ठाउँ-ठाउँमा पानी बगेका खोल्सा । अन्य सदरमुकाममा भन्दा बढ्ता सुविधा छ यहाँ पानीको । तीन/चार घरधुरीका आ-आफ्ना नीजि मुहान छन् ।
आठ बजे मात्र उज्यालो
पानी पनि होइन रहेछ, बाक्लो शीत होटलबाट झन्डै १ किलोमिटर पुर्व-दक्षिण पुगेर होटल फर्किंदा लुछु्रप्प भैसकेको थिएँ । पुर्व सम्झौता बमोजिम होटलका प्रोप्राइटरलाई खोजेँ । होटलका कर्मचारीले भनिदिए, यहाँ त आठ बजे मात्र उज्यालो हुन्छ, कहाँ काठमाडौं जस्तो हो र ? जानुस् कोठामा म चिया ल्याइदिन्छु । फर्कें, दीलिप मस्त निद्रामा थिए । झ्याल खोलें ! डम्म हुस्सुले ढाकिएको छ । सोलु खोला एकनासले स्वा..स्वा भाका फेरिरहेको छ । खोला किनारमा जन्मी हुर्केको मलाईं ‘कालुङ्गखोला’ को सम्झना उल्र्यो । त्यसैमा सुसाउने नजिकैका खोल्सा । डा. गोबिन्द केसी सातौँ पटकको अनसनमा थिए, के भयो होला ? पुराना कुरामा धेरै डुब्नु पनि भएन । इन्टरनेट सञ्जालसँग जोडिन खोजें, पटक्कै सम्भव भएन । सल्लेरीस्थित हाम्रा व्यवसायीक साझेदारको पटकपटक गुनासो यसैमा केन्द्रित थियो । साच्चै हो रहेछ ! जीवन आफ्नै-भोगाई आफ्नै ! फाप्लु अहिले नै जान सकिदैन । होटल प्रोपराइटर आइपुगे कोठामा । ‘ठिकै छ, चिया पिउदै कुरा गरौँ न’ मैले अनुरोध गरेँ ।
भुकम्पले चिथोरेको सौन्दर्य
२०५८ सालमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुगेको थियो । मंसिर १० गते प्रमुख जिल्ला अधिकारीको ज्यान जाने गरी गरिएको सदरमुकाम आक्रमणपछि शान्ति सहमति नहुँदासम्मको समयावधि त्यहाँका नागरिकले मुस्किलले गुजारेका छन् । त्यो तनावलाई सम्झाउने गरिको कुनै पनि विपत्ति देख्नु नपरोस् भन्ने कामना राखेका त्यहाँका स्थानीयलाई गत बैशाखमा गएको भूकम्पीय विनासले खङ्ग्रङ्ग बनाइदिएको छ । अझै पनि पालमा जीवन बिताउने घर-परिवारहरु छन् । राजनीतिक उतारचढावको खाटा नबस्दै आइलागेको प्राकृतिक विपत्तीले हिमाली जिल्लाको सौन्दर्यलाई चिथोरेको छ ।
प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीको सक्रियतामा खुलेको फाप्लु अस्पताल सार्वजनिक संस्थानको रुपमा नेपाल सरकारले जिम्मा लिएपछि अहिले सर्वसाधारणको उपचारको केन्द्र बनेको छ । यहि अस्पतालमा ५ करोड भारतीय सहयोगमा ५० सैया थप्न आएका तत्कालिन भारतीय राजदुत राकेश सुदले जुत्ता खानु परेको परेपछिको सहानुभूति समेत पछिल्लो भारतीय कुटनैतिक अर्घेल्याइँले स्खलित भएको छ ।
त्रिभुवन विश्वविद्यालयको सम्वन्धनमा खुलेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई फरक-फरक विधामा स्नाकोत्तरसम्मको अध्ययन गर्न पाइन्छ । सार्वजनिक र सामुदायिक विद्यालयका अतिरिक्त नीजि विद्यालयमा अ-आफ्नो क्षमता अनुसार पढाउने सुविधा छ ।

पाँचवटा स्थानीय एफएम रेडियोले जनतालाई सू-सुचित गर्ने काम गर्दै आएका छन् । सिमित संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाले वित्तीय सेवा प्रवाह गर्दै आएका छन् । त्यहाँका स्थानीयको आधारभुत आवश्यकतामा भरथेग गर्दै आएका यी संस्थानको सवलीकरण राज्यको प्रमुख दायित्व हुनेछ ।
मौसम खुल्दै गएको छ । चियाको चुस्की सकिएको छ । फाप्लु उक्लिन अब हामीलाई गाह्रो छैन । ‘हुने घरको बेलुकी मतो नहुने घरको मतो न जतो’ मलाईं पुर्खाले सिकाएको आहन यो । सल्लेरीको जिम्मेवारी बाँडफाँड हामीले बेलुकै तय गरेका छौं । निर्धारित समयमा काम सम्पन्न हुन्छ । थपिएको एफएमसँगको अन्तरवार्ता छोटो समयको छ । फर्किने समयमा फाप्लु पुगेर फर्किनेछौँ । मौसमको खरावीले समय तालिकामा थोरै फेरबदल भएको छ ।
सल्लेरी र फाप्लु बिमानस्थल नङ र मासु
फाप्लु विमानस्थलमा भर्खर कालोपत्रे सम्पन्न भएको छ । उक्लिँदै गर्दा डाँडाबाट सल्लेरी बजार र त्यसैको काखबाट बगेको सोलु खोलाको तस्वीर क्यामेरामा कैद गर्‍याैं । सल्लेरीवासीका लागि फाप्लु विमानस्थलको आवश्यकता नङ्ग र मासु जस्तै हो । अन्तर र आन्तरिक जिल्लाको उडान भर्ने यो विमानस्थलले त्यहाँका बासिन्दा र पर्यटकलाई मूलतः अन्य हवाई उडान सञ्जालसँग जोड्नुका साथै गन्तब्यमा समेत पुर्‍याउँछ ।
सल्लेरीको प्रसिद्ध सिमी सम्झनाको लागि प्याक गरिसकिएको छ । यहाँको खर्कमा पाइने आलु धापमै व्यवस्था मिलाएका छौं । गाडीले हिजो उक्लेको सडकमा आज ओरालो गति लियो । इन्धन अभावमा सार्वजनिक यातायातका पर्याप्त गाडी गुडेका थिएनन् दर्जनौं हातले हामीसँग लिफ्ट माग्दै थिए ! गाडीको सीट क्षमता काठमाडौंबाटै पूर्ण छ । हिजो थपिथपी चिया पिएको ठाउँमा गाडी रोकियो । कस्तो हार्दिकता ती दिदीको ? हामीले लामो भोकलाई साँचेर यहिँ आइपुगेका छौं खाजा खान । बुङ्गको आलु उसिनेर टिमुरको चट्नीसँग ! यस्तै खाजा मैलें पाँचथरको भ्रमणमा पनि अनुभव गरेको छु । खाजा खाने निर्णय भयो । फर्किनु छ हामीलाई अव रुम्जाटार जुन स्थानको सम्बन्ध फाप्लु र सल्लेरीसँग अझै घनिष्ट छ ।