शनिबारदेखि बेपत्ता भएका पत्रकार गुरुङको मृत शरीर सोमबार दिउँसो हुक र बेजिङस्टोकबीच पर्ने जंगलमा भेटिएको बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स पत्रिकाका मार्केटिङ म्यानेजर ज्ञाम गुरुङले जानकारी दिए । पत्रकार गुरुङको मृत्युको कारण भने अझै खुलेको छैन ।
विगत ३ बर्षदेखि एभरेष्ट टाइम्स साप्ताहिकमा कार्यरत गुरुङ शनिबार अल्डरसटस्थित एम्पाएर हाउसमा प्रदर्शन भएको वडा नम्बर ६ चलचित्र हेरेर निस्केपछि बेपत्ता भएका थिए । आइतबार दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
श्रीमती सुनिता गुरुङ र दुई छोरीका साथ बेलायतको अल्डसटमा बसोबास गर्दै आएका गुरुङको कार बेजिङस्टक जाने बाटोमा शंकास्पद अवस्थामा फेला परेको थियो ।
कास्कीको घान्द्रुकमा जन्मिएका गुरुङ सन् २००६ मा हङकङ हुँदै बेलायत आएका थिए ।