जहाज नभएकाले धनगढी–काठमाडौँको हवाई सेवा नियमित बनाउन भने कहिलेकाहीँ समस्या हुने गरेको निगमको धनगढीस्थित कार्यालयका प्रमुख कुलप्रसाद ओझाले बताए ।
‘ट्रङ्क रुट‘ अर्थात् तराई क्षेत्रका विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न ठूलो विमान निगमसँग एउटै मात्र भएकाले धनगढी–काठमाडौँको उडान कहिलेकाहीँ रद्द गर्नुपर्ने अवस्था आउने गरेको बताइएको छ ।
‘ट्रङ्क रुट’मा चल्ने निगमको यो एउटै विमानबाट तराई क्षेत्रका विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज र धनगढीबाट हवाई सेवा उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ ।
धनगढी विमानस्थलवाट नेपाल वायुसेवा निगमबाहेक निजी क्षेत्रको बुद्ध एअर र यती एअरलायन्सले हवाई सेवा सञ्चालन गर्दै आएको छ । बुद्ध एअरले दैनिक सेवा उपलब्ध गराइरहेको छ भने यती एअरलायन्सले हप्तामा तीन दिन सेवा उपलब्ध गराउँदै आएको छ ।
हवाई भाडा दर फरकफरक
धनगढी–काठमाडौँको हवाई भाडादर निजी क्षेत्रका विमानको भाडादरको तुलनामा नेपाल वायु सेवाको भाडा दर केही सस्तो रहेको छ ।
नेपाल वायु सेवाको धनगढी–काठमाडौँको भाडादर प्रतियात्रु ५ हजार ६ सय ५५ रूपैयाँ, ६ हजार २ सय ५५ र ८ हजार ४ सय ६५ रूपैयाँ गरी तीन प्रकारको कायम गरिएको छ । अग्रिम टिकट लिनेले सस्तो अर्थात् रु पाँच हजार ६५५ मा उड्न पाउने गरेको बताइएको छ ।
यता निजी विमानको भाडा दरमा एकरुपता भए पनि दर भने सात प्रकारको निर्धारण गरिएको छ ।
कसले कति सस्तोमा टिकट दिन सक्छ भन्ने प्रतिस्पर्धा दुई एअरलायन्सबीच हुने गरेकाले सात प्रकारको भाडा दर कायम भएको यती एअरलायन्सका गजेन्द्र शाहीले बताए ।
यी निजी विमानले धनगढी–काठमाडौँको हवाई भाडा दर प्रतियात्रु पाँच हजार ७ सय २५ देखि रु ११ हजार ३ सय ४० रूपैयाँसम्म सात प्रकारको निर्धारण गरेका छन् .
.