धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

यसरी बन्यो चीनबाट पेट्रोल भित्र्याउने ‘खेल’

हिउँ नपर्दै केरुङबाट ३३ प्रतिशत तेल भित्र्याउने तयारी

China-petrol                      नेपालका सरकारी अधिकारीहरुको योजना अनुसार काम हुने हो भने अबको दुई साताभित्र चीनबाट नेपालमा नियमित रुपमा इन्धन आउन थाल्नेछ ।
भारतले अघोषित नाकाबन्दी गरेको लामो समयसम्म चीनलाई औपचारिक आग्रह समेत गर्न नसकेको सरकार दसैंमा एकाएक जुर्मुराएको छ । चीनले १० हजार मेटि्रक्टन अर्थात १३ लाख लिटर पेट्रोल अनुदानका रुपमा दिने बताइसकेको छ । थप सम्झौताका लागि नेपाली टोली बेइजिङ पुगिसकेको छ ।
तर, यो सबै परिघटना एकाएक विकसित नभएको अधिकारीहरु बताउँछन् । चीनबाट तेल ल्याउने प्रक्रियामा प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, आपूर्तिमन्त्री गणेशमान पुन र चीनका लागि नेपाली राजदूत महेश मास्केले निर्णायक भूमिका खेलेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइदेखि चिनियाँ उच्च अधिकारीहरुको भूमिका पनि निकै सहयोगी भएको संलग्नहरु बताउँछन् ।
यसरी बन्यो वातावरण
भारतले गरेको नाकाबन्दीकै कारण दसैंमा समेत मानिसहरु घर जान नसक्ने अवस्था रहेका बेला एमाले र एमाओवादीका नेताहरुसहितको टोली सिल्करोड सम्मेलनमा सहभागी हुन चीन पुगेका थिए ।
एमाओवादीले अध्यक्ष प्रचण्डको सट्टा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाई चीन पठाएको थियो । बेइजिङमा रहँदा उनले नेपाल तथा दक्षिण एशिया हेर्ने चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री छन फेङस्याङसँग निकै लामो सम्वाद गरे ।
फेङस्याङले नेपालमा पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिबारे गि्रन सिग्लन दिएपछि श्रेष्ठ हौसिए । उनले काठमाडौं आए लगतै चिनियाँ राजदूत चुन्ताईसँग पनि छलफल गरे ।
चीनका लागि नेपाल राजदूत महेश मास्के पनि चिनियाँ अधिकारीहरुसँग थप छलफल गरेर काठमाडौं आइसकेका थिए ।
श्रेष्ठले राजदूत मास्केलाई लिएर पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरे । चीनबाट तेल ल्याउन प्रचण्ड सहमत भएपछि श्रेष्ठ प्रचण्ड र मास्केलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगे । स्रोतका अनुसार बालुवाटारमा भएको त्यो छलफल नै चीनबाट तेल ल्याउन निर्णायक बन्यो ।
चीनबाट तेल ल्याउने नीतिगत निर्णय गर्दै बैठकले आपूर्तिमन्त्रीसँग थप छलफल गर्ने जिम्मा एमाओवादी उपाध्यक्ष श्रेष्ठलाई नै दियो । ‘यो प्रक्रियामा श्रेष्ठले लिएको पहलमा प्रधानमन्त्री केपी ओली र प्रचण्डले सहयोगमात्र गर्नुभएन, प्रोत्साहित पनि गर्नुभयो र आपूर्तिमन्त्रीको पनि पूर्ण साथ रहृयो’ एक अधिकारीले  भने ।तेल ल्याउने विषयमा श्रेष्ठ, आपूर्तिमन्त्री र नेपाल र चीनका राजदूतबीच पटक-पटक छलफल भएको थियो । चिनियाँ राजदूत पाँचजनाको टीमसहित छलफलमा सहभागी भएका थिए ।
चीनबाट तेल ल्याउने विषयमा केपी ओली सरकारको मन्त्रिपरिषदबाट नयाँ निर्णय भने गरिएको छैन । अधिकारीहरुका अनुसार यसबारे पनि छलफल भएको थियो । तर, अघिल्लो सरकारले गरेको विकल्प खोज्ने निर्णयलाई नै टेकेर उच्च अधिकारीहरुको बैठकले यो प्रक्रिया अघि बढाएको हो ।
भारतीय नाकाबन्दीलाई अवसरमा बदल्ने प्रयास
अहिले इन्धन आयातमा नेपाल पूर्णरुपमा भारतमा निर्भर छ । जसका कारण उसले नाकाबन्दी गर्दा देश ठप्पजस्तै भएको छ । तर, भारतले गरेको नाकाबन्दीलाई अवसरका रुपमा लिँदै चीनतर्फको विकल्प खुला गर्न लागिएको यो प्रक्रियामा संलग्नहरु बताउँछन् ।
उनीहरुका अनुसार भारतलाई चिढ्याउन नभई उसमाथिको नेपालको निर्भरता कम गर्न चीनबाट तेल ल्याउन लागिएको हो । अब नेपालको मागको ३३ प्रतिशत चीनबाट ल्याउने अधिकारीहरु बताउँछन् । नेपाल सरकारले तेल आपूर्तिको यो प्रक्रियालाई ढीलो गर्न नहुनेमा जोड दिएको छ ।
मूल्य धेरै नबढोस्
छलफलमा नेपाल र चीनका अधिकारीहरुबीच चीनबाट ल्याउने इन्धनको मूल्यबारे सामान्य कुराकानी भएको छ । चीनले दिने इन्धनको गुणस्तर अहिले नेपालमा प्रयोग भइरहेको भन्दा राम्रो पाइएको छ । यसले स्वभाविक रुपमा केही मूल्यसमेत बढी पर्न सक्नेछ ।
तर, नेपाली अधिकारीहरुले चीनलाई जे जसरी भए पनि अहिले भारतबाट आउने तेलको मूल्यमा सरदर रहने गरी नै तेल उपलब्ध गराउन चिनियाँ अधिकारीहरुलाई आग्रह गरेका छन् ।
हिँउले बाटो छेक्छ, छिट्टै भण्डारण होस्
नेपालले चीनबाट ल्याउने तेल रसुवासँग जोडिएको केरुङ नाकाबाट आउनेछ । बैशाख १२ को भूकम्पपछि रोकिएको यो नाका हालै मात्र सुचारु गरिएको छ । तर, अझै चुस्त बनिसकेको छैन ।
अब चिसो मौसम सुरु भएपछि चीनतर्फबाट बाटो हिउँका कारण अवरुद्ध हुन्छ । जसले नेपालतर्फ तेल आउन रोकिने छ । नेपाली अधिकारीहरुले नेपालमा तेल ल्याउन बढीमा एक डेढ महिना मात्र सकिने भएकाले त्यसअघि नै भण्डारणलगायतको बन्दोबस्ती मिलाउन आग्रह समेत गरेको छ ।
एक अधिकारीहरुले भने, हामीले हिउँले बाटो रोकिनु अघि नै नेपाललाई चाहिने तेल आपूर्तिका लागि के गर्न सकिन्छ, ध्यान दिन जोड दिएका छौं । हामीसँग समय एकदमै कम छ ।’ यसरी हेर्दा चीनबाट तेल ल्याउन विकल्प सोचेजस्तो सहज छैन । तर, चिनियाँ अधिकारीहरु निकै सकारात्मक रहेकाले केही दिनमा नै परिणाम देखिन सुरु हुने नेपालको दाबी छ ।
दुई सातापछि तेल आउँछ ?
चीनबाट तेल ल्याउने प्रक्रियामा सहभागी नेताहरुका अनुसार अबको दुई सातामा नै चीनबाट तेल आउने सम्भावना छ ।
चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा आठ समस्यीय टोली बेइजिङ गइसकेको छ । यो टोलीले तेल आपूर्तिबारे चाइना नेशनल पेट्रोलियम कम्पनी र नेपाल आयल निगमबीच व्यवसायिक सम्झौता गर्नेबारे छलफल गर्नेछ ।
टोलीलाई चीनसँग दीर्घकालीन रुपमा तेल आयात गर्न सक्ने सम्झौता गर्ने अधिकार समेत दिइएको वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले बताए । बेइजिङ उड्नुअघि टोलीका सदस्य बाणिज्य मन्त्रालयका सहसचिव शम्भु घिमिरेले चीन तयार भएमा व्यापारिक सम्झौता पनि हुन सक्ने संकेत गरे ।
बेइजिङमा हुने छलफलमा चीनको प्रस्तुति हेरेर मात्र कस्तो सम्झौता हुन्न भन्ने तय हुने उनले बताए । स्रोतका अनुसार यो टोलीले बेइजिङमा चार दिनभित्र सबै प्राविधिक विषयसहितको छलफल सक्नेछ । ‘यो टोलीले व्यवसायिक सम्झौता नै गरेर आउन सक्छ’ स्रोतले भन्यो, यदि हाई लेभलमा नै सम्झौता हुने भयो भने एमओयू नेपाल पठाएर मन्त्रिपरिषदबाट अनुमोदन गर्नुपर्छ ।’
अधिकारीहरुका अनुसार अहिलेसम्मको तयारी हेर्दा चीनसँग व्यवसायिक सम्झौता भएर नेपालमा तेल ल्याउने प्रक्रिया सुरु हुन बढीमा दुई साता मात्र लाग्नेछ । तर, त्यसका लागि नेपालले पनि रुसुवातर्फको नाकादेखि ट्यांकर र भण्डारणसम्मको सबै व्यवस्था मिलाउनुपर्नेछ ।