१६ कात्तिक ।
पर्साको वीरगञ्जमा प्रहरीले गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको छ ।
सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा मृत्यु भएका भारतीय नागरिक २४ वर्षीय आशिषकुमार राम भारतको रक्सौल नयाँ रोड बस्दै आएको पर्सा प्रहरीले पुष्टि गरेको हो । झडपका क्रममा प्रहरीले चलाएको गोली टाउको लागेर उनको मृत्यु भएको हो । प्रहरीमाथि ढुंगामुढा गर्न उनी विहानै रक्सौलबाट वीरगञ्ज आएका थिए ।
गृह मन्त्रालयले पनि मृतक भारतीय नागरिक भएको पुष्टि गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले मृतक भारतीय नागरिक रहेको र उनी रक्सौलबाट आएको सूचना प्राप्त भएको बताउनुभयो ।
यो घटनासँगै थुप्रै भारतीय नागरिकहरु मधेस आन्दोलनमा सहभागी भएको पुष्टि भएको छ । यहाँनेर मधेस आन्दोलन नेपाली जनताले गरेका हुन वा भारतीय जनताले भन्ने प्रश्न समेत उठेको छ ।
नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएपछि वीरगन्जको स्थिती तनावग्रस्त बनेको हो ।