धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

सिआईडी बनेर १० लाख लुट्ने चारजना पक्राउ

२०७२ कार्तिक १९
फोटो :लुटमा संलग्नलार्इ सार्वजनिक गर्दै प्रहरी । तस्बिर : शिबराज भट्ट

धनगढी : आफुहरु सिआईडी प्रहरी भएको भन्दै सोमबार धनगढीमा १० लाख लुटपाट गर्ने गिरोकका ६ जनामध्ये चारजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले लुटिएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

कातिक १६ गते राति धनगढीको ट्राफिक चोकस्थित ब्लु स्टार होटलमा बास बसेका बझाङको जयपृथ्बीबहादुर सिह नगरपालिका–५ का हरिश जैशीबाट सो समुहले १० लाख रकम लुटपाट गरेको थियो ।

लुटपाटका मुख्य योजनाकार सहित रहेका कञ्चनपुरको बेलडाँडी–८ का माधव जैशी, बझाङको जयपृथ्बी बहादुर सिंह नगरपालिका–५ का अमन भनिने लोकेश थापा, बझाङको चैनपुर–१ का जनक थापा र धनगढी उपमहानगरपालिका–१ का रमेश साउदलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

चारै जनाबाट लुटपाट गरिएको पाँच लाख ३४ हजार रकम पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

यस्तै प्रहरीले रमेश साँउदले चलाई रहेको से ४ प २६६३ नम्बरको स्कुटर पनि बरामद गरेको छ ।

हरिश जैशीले भारतको ब्यांगलोरबाट चोरेर ल्याएको भारतीय १७ लाखमध्ये आफ्नो भागमा परेको १० लाख रकम सहित ब्लु स्टार होटलमा बसेको प्रहरीले जनाएको छ ।

भारतबाट गहना चोरेर ल्याएको गहना हरिशले बेचेको जानकारी बेलडाँडीमा बस्दै आएका भाइ नाता पर्ने माधव जैशीलाई दिएलगत्तै लुटपाट भएको पनि प्रहरीले जनाएको छ । प्रहरीले माधव जैशीले नै लुटपाटको योजना बनाएको खुलेको बताएको छ ।

प्रहरीले, लुटपाटमा संलग्न नेपाल विद्यार्थी संघ, कैलालीको निर्वाचन क्षेत्र नंं ६ का अध्यक्ष कट्टे भनिने गजेन्द्र शाही र धनगढी उपमहानगरपालिका–५ हसनपुरका सुरज बम फरार रहेको जनाएको छ । उनीहरुको प्रहरीले खोजी गरिरहेको छ ।

भारतबाट चोरेर ल्याएको रकममध्ये आफ्नो भागमा परेको रकमसहित हरिश जैशी कातिक १६ गते धनगढीको ट्राफिक चोकस्थित ब्लु स्टार होटलको १०३ नम्बर कोठामा बसेका थिए ।

राति आफुहरु सादा पोशाकको सिआईडी प्रहरी भएको भन्दै लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।

चारै जनामध्ये लोकेश थापालाई धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेका बेला भीमदत्त पन्त राजमार्गमा पर्ने फल्टुडेबाट र अन्यलाई धनगढीका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सबैका विरुद्ध डाँकाचोरीमा मुद्धा दर्ता गरिएको पनि जनाएको छ ।