१८ कार्तिक-कांग्रेस सभापति सुशील कोइरालालाई आगामी महाधिवेशनबाट सभापति बन्ने चाहना नराख्न पार्टी सदस्यहरूले आग्रह गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा सदस्यहरूले प्रधानमन्त्रीमा उम्मेदवारी दिनु नेतृत्वको कमजोरी भएको आरोपसमेत लगाएका छन् ।
केन्द्रीय समितिको मंगलबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले नेतृत्वको विरोध गरेका हुन् । केही सदस्यले भने नेतृत्वको बचाउमा धारणा राखेका छन् । प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेदवारीले पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै केही सदस्यले अब सभापतिमा लोभ नगर्न सुझाब दिएका थिए । हचुवाको भरमा नेतृत्वले गरेको निर्णयले पार्टीलाई दूरगामी असर पार्ने उनीहरूको भनाइ रहेको छ ।
केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सूर्यमान गुरुङ, नवीन्द्रराज जोशी, केशवकुमार बुढाथोकीलगायतले कोइरालाको उम्मेदवारी पुष्टि हुन सक्ने आधार नै नदेखिएको धारणा राखेका थिए । प्रधानमन्त्रीमा उम्मेदवारीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पद पनि कांग्रेसले गुमाउनुपरेको उनीहरूले बताएका थिए ।