धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

दलित भन्दै डेरावालाई निकाल्ने घरधनी पक्राउ

इटहरी - नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको एक दशक बितिसक्दा पनि नेपाली समाजमा जरो गाडीएको छुवाछुत प्रथाको अन्त्य हुन सकेको छैन ।

ग्रामिण भेगमा जनचेतनाको कमी तथा अशिक्षाको कारण यो प्रथा हटन सकेका छैन भने बिकाशोन्मुख सहरहरुमा समेत यस्तो प्रथा अझैं कायम रहेको
पाइएको छ । पछिल्लो समय पूर्वको केन्द्र मानिने इटहरी जस्तो विकसित शहरमा समेत यस्ता प्रकारका अमानवीय घटना सार्वजनीक भएको छ ।


दलित भएको कारण देखाउदै बेइज्जतीपूर्ण ढङ्गबाट डेरावाल निकाला गरेको अभियोगमा इटहरी ८ का ४२ बर्षीय श्याम भण्डारी र उनकी श्रीमती ४० बर्षीया शर्मिला भण्डारीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी बुधबार छुवाछुत ऐन अन्तरगत मुद्धा दर्ता गरेको छ ।

घर धनीको सम्झौता अनुसार कोठामा कार्पेट ओछयाएर सामान आसार्ने तयारी गरीरहेका शान्ति गजमेरको परिवारलाई भण्डारी दम्पतीले अभद्र ब्यवहार गरी डेराबाट निकाला गरेका हुन ।

पिडित गजमेर परिवारले घरधनी भण्डारी दम्पती बिरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा मुद्धा दर्ता गरेपछि प्रहरीले दुबैलाई पक्राउ गरी हरिासतमा राखेको छ ।

पिडित गजमेर परिवारका अनुसार दशै अघी नै कोठा दिने सहमती भइसकेका घर धनीले जातको बिषयमा थाहा पाएर तल्लो जातलाई कोठा दिने गरेको छैन भन्दै
कोठामा ओछयाएको कार्पेट निकालेर बाहिर फालेको र जबरजस्ती कोठाबाट निकाला गरी आफुहरुमाथी अभद्र ब्यवहार गरेको बताएका छन् ।

यता पक्राउ घर धनी भण्डारी दम्पतीले भने आफुहरुले गजमेर परिवारलाई जातको आधारमा नभई घर सल्लाह नमिलेको कारण कोठाबाट निकाला गरीएको बताए ।

प्रहरी हिरासतमा रहेका भण्डारी परिवार बिरुद्ध बुधबार जिल्ला अदालतमा छुवाछुत ऐन अन्तरगत मुद्धा दर्ता गरीसकेको इलाका प्रहरी कार्यालय इटहरीका मुद्धा फाटका प्रहरी नायव निरिक्षक गोविन्द खवासले बताए ।

प्रहरी नायव निरिक्षक खवासका अनुसार भण्डारी दम्पतीलाई छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार २५ हजार देखी १ लाख सम्म जरिवाना र ३ वर्ष सम्म जेल सजाय हुन सक्ने बताए ।