धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

तेल हाल्न निजी सवारीलाई टोकन अनिवार्य, नभए पेट्रोल पाइन्न


१७ कात्तिक, । बिहीबारबाट वितरण गरिने तेल पाउन लाइनमा निजी सवारी धनीले सवारी साधन मात्र राखेर नहुने भएको छ । सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्ने भएको छ ।
अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि नेपाल आयल निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको छ ।
लट अनुसार सम्बन्धित सवारी धनीले पेट्रोलपम्पमा बिहीबार बिहानै कुपन लिनुपर्नेछ । कुपन बाँड्ने समय नतोकिएपनि पम्पले अाफुलार्इ पायक पर्नेगरी कुपन बाँड्नेछन् ।

टोकन नलिएकाहरुले तेल पाउने छैनन् । ‘सबै पम्पमा एकै परिमाणमा तेल वितरण हुँदैन । त्यसैले पम्पले आफूले पाउने पेट्रोलको परिमाणअनुसार चिट वा कुपन बाँड्ने छन्’
आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले अनलाइनखबरसँग भने-‘एउटा पम्पमा टोकन नपाए अर्को पम्पमा पुगेर टोकन लिनुस् । टोकन नभए तेल पाइन्न ।’
टोकन लिएकाहरुले भने तेल पाउने आयल निगमले जनाएको छ । सबै सवारीलाई पेट्रोल उपलब्ध गराउने ग्यारेन्टी गर्न नसकिने डिपो प्रमुख शर्माले बताए ।
अघिल्लो पटक दसैंका लागि निजी सवारीलाई पेट्रोल वितरण गर्दा झण्डै दुईतिहाइ अर्थात ७५ प्रतिशत सवारी रित्तै फर्किएका थिए ।
दसैंअघि ६ लाख लिटर पेट्रोल वितरण गरिएको थियो । तर झण्डै २० लाख लिटर माग देखिएको थियो । यो पटक भने चीनले अनुदानमा दिएको तेल समेत काठमाडौं आएकाले निगमलाई केही राहत भएको छ ।
कुन लटले कहिले तेल पाउने ?
१ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकलले भोलि बिहीबार पेट्रोल पाउनेछन् । ३० देखि ५० को लटमा दर्ता भएका मोटरसाइकललाई २० गते शुक्रबार र ५० भन्दा माथिका लटका मोटरसाइकललाई शनिबार पेट्रोल बाँडिने छ ।
यसैगरी बिहीबार १ देखि ५ लटका कारले तेल किन्न पाउनेछन् भने शुक्रबार ६ देखि ८ लटका कारको पालो आउनेछ । ८ भन्दा माथिका लटका कारले भने शनिबर पेट्रोल पाउने निगमले जनाएको छ ।
निगमलले टोकन लिएमा देशभर कुनैपनि अञ्चलमा दर्ता भएका सवारीलाई पेट्रोल वितरण गर्ने जानकारी दिएको छ । कारले १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल पाउनेछन् ।